काठमाडौँ । मुलुकको समग्र अर्थतन्त्रलाई चलायमान बनाउने र निजी क्षेत्रका समस्या फुकाउने उद्देश्यका साथ प्रधानमन्त्री वालेन्द्र शाहले देशका प्रमुख उद्यमी तथा व्यवसायीहरूसँग विशेष परामर्श सुरु गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी यस बैठकमा प्रमुख उद्योगीहरू विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकालको उपस्थिति रहेको छ । भेटमा हालको आर्थिक मन्दी, निजी क्षेत्रले दिनहुँ झेल्नुपरेका प्रशासनिक तथा व्यावहारिक कठिनाइ, लगानी बढाउने वातावरण र देशभित्रै नयाँ रोजगारीका अवसर सिर्जना गर्ने विषयमा गहन संवाद भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसका साथै सरकार र निजी क्षेत्रबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै व्यापार-व्यवसाय विस्तारका लागि खुकुलो वातावरण तयार पार्न दुवै पक्षबीच छलफल भइरहेको छ ।

