काठमाडौँ । मुलुकमा देखिएको पकाउने ग्यासको अभावलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको तीव्र आलोचना गरेको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद आशिका तामाङले बजारमा ग्यासको हाहाकार हुँदासमेत सरकार मुकदर्शक बनेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले ग्यास पाउन छाडेपछि सर्वसाधारण भोकभोकै बस्नुपर्ने अवस्था आएको उल्लेख गर्दै देशमा सरकारभन्दा माफिया हाबी भएको हो कि भन्ने प्रश्न उठाइन् ।
अभावको यथार्थ स्थिति सार्वजनिक गर्न माग गर्दै उनले भनिन्, “यदि साँच्चै नै देशमा ग्यास छैन भने सरकारले सोही कुरा स्पष्ट रूपमा घोषणा गर्नुपर्छ र जनतालाई दाउरा खोजेर भात पकाउन भन्न सक्नुपर्छ ।”
साथै, पटक-पटक मन्त्री फेरिने परिपाटीप्रति टिप्पणी गर्दै तामाङले मन्त्री परिवर्तन गरेर मात्रै ग्यासको समस्या समाधान नहुने दाबी गरिन् ।
महिनैपिच्छे मन्त्री फेर्दै जाने हो भने ग्यास पाउने सर्वसाधारणको लाइनभन्दा मन्त्रीहरूको लाइन नै लामो हुने उनको भनाइ थियो ।

