नुवाकोट । अविरल वर्षासँगै आएको बाढीपछि सिर्जित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै विदुर नगरपालिकामा हैजाविरुद्धको खोप अभियान सुरु गरिएको छ ।
भोटेकोसी र त्रिशूली नदीको बहाव बढेर प्रभावित बनेका क्षेत्रहरूमा सम्भावित महामारी रोक्न स्थानीय प्रशासन तथा स्वास्थ्य शाखाले यो कदम चालेका हुन् ।
दूषित पानी र खानपिनका कारण हैजा जस्ता सरुवा रोग फैलिन सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै भदौ २५ गतेदेखि सुरु भएको यो अभियान भदौ २९ गतेसम्म जारी रहनेछ । नगरपालिकाका सबै वडामा रहेका खोप केन्द्रहरूमार्फत एक वर्ष पूरा भएका बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई खोप दिइने व्यवस्था मिलाइएको छ ।
खोप कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठ स्वयम् सहभागी भई सबै नगरवासीलाई ढुक्क भएर खोप लगाउन र पूर्ण सतर्कता अपनाउन अपिल गरेका छन् ।

