काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक दोस्रो दिन पनि जारी रहेको छ । ललितपुरको भनीमण्डलस्थित रामबाग महलमा चलिरहेको उक्त बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची बनाइएको छ ।
बैठक सञ्चालनको विधिलाई लिएर पहिलो दिन उत्पन्न विवाद दोस्रो दिन पनि दोहोरिएको छ । आज बैठकको सुरुआतमै केन्द्रीय सदस्य कर्णबहादुर थापाले केन्द्रीय सदस्यहरूलाई आफ्नो धारणा राख्नबाट वञ्चित गर्न नहुने भन्दै प्रक्रियाप्रति असन्तुष्टि जनाउनुभएको थियो ।
यसअघि बैठकको पहिलो दिन महासचिवले बैठक सञ्चालन गर्ने पार्टीको स्थापित परम्परा विपरीत अध्यक्ष स्वयंले सञ्चालन गरेको भन्दै नेता कृष्णगोपाल श्रेष्ठले विरोध जनाउनुभएपछि केही समय तनाव सिर्जना भएको थियो । यसपटक अध्यक्ष ओलीले आफैँ बैठक सञ्चालन गर्नुका साथै बैठक कक्षभित्र मोबाइल फोन लैजानसमेत रोक लगाउनुभएको छ ।
आजको बैठकमा सहभागी केन्द्रीय सदस्यहरूलाई राजनीतिक प्रतिवेदनमाथि बोल्नका लागि तीन मिनेटको समय निर्धारण गरिएको छ ।

