काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन पछि सरेको छ । यससँगै महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने निश्चित भएको छ ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार स्थानीय स्तरका वडा, गाउँपालिका र नगरपालिका अधिवेशनहरू सम्पन्न भइसकेका छन् । तर, केही निर्वाचन क्षेत्रमा प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको छ ।
देशका विभिन्न भागमा परेको अविरल वर्षा र त्यसले सिर्जना गरेको प्रतिकूल अवस्थाका कारण तोकिएको समयमै प्रतिनिधि चयन पूरा हुन नसकेपछि महाधिवेशनको कार्यतालिका दुई दिन पछाडि धकेल्नु परेको पार्टीले जनाएको छ ।
यसअघि कांग्रेसले असोज १६ गतेदेखि महाधिवेशन सुरु गर्ने निर्णय गरेको थियो ।

