काठमाडौँ । मनसुन सक्रिय भएसँगै सुरु भएको वर्षा र विपद्का कारण देशका प्रमुख राजमार्गहरूमा जोखिम बढेकाले यात्रा गर्दा सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावका कारण नेपालका कोशी, बागमती र नारायणी नदी जलाधार क्षेत्रमा भारी वर्षा हुने र यसले सडक यातायात प्रणालीमा गम्भीर असर पार्ने देखिएको हो ।
विशेष गरी पहाडी तथा भिरालो भू-भाग भएर जाने राजमार्गहरूमा पहिरो जाने, बाढी आउने र सडक भासिने सम्भावना अत्यधिक छ । वर्षाका कारण नदी तथा खहरे खोलामा जलसतह तीव्र रूपमा बढ्ने भएकाले नदी किनारका सडक कटानमा पर्नुका साथै पुल तथा कल्भर्टहरूमा क्षति पुग्न सक्ने अनुमान गरिएको छ ।
जोखिमका हिसाबले नारायणगढ-मुग्लिन सडक खण्ड, कोशी राजमार्ग, सिद्धार्थ राजमार्ग, कान्ति राजमार्ग र अरनिको राजमार्गका विभिन्न खण्डहरू बढी संवेदनशील मानिएका छन् । सडक अवरुद्ध हुँदा सर्वसाधारणको आवागमनका साथै खाद्यान्न र अत्यावश्यक वस्तुको ढुवानीमा समेत समस्या आउन सक्नेछ । सम्भावित विपद्लाई ध्यानमा राख्दै बाढी पूर्वानुमान महाशाखा तथा सम्बन्धित निकायहरूले अत्यावश्यक कामबाहेक वर्षाको समयमा यात्रा नगर्न र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल गरेका छन् ।

