काठमाडौँ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोखार्जलाई आठ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ ।
कर्णाली याक्ससँगको पहिलो खेलमा पराजय व्यहोरेको जनकपुरले उत्कृष्ट पुनरागमन गर्दा काठमाडौं भने प्रतियोगिताको पहिलो खेलमै स्तब्ध भएको छ ।
काठमाडौंले प्रस्तुत गरेको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्यो । टोलीको जितमा मोइन अलीले ५१ बलमा ५८ रन तथा सैफ हसनले ३९ बलमा ४० रनको अविजित योगदान दिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा ११५ रनमै समेटिएको थियो । जनकपुरका राहुल यादवले घातक बलिङ गर्दै चार विकेट लिए भने सैफ हसनले दुई विकेट हात पारे ।

