काठमाडौँ । दसैँको बिदा सकिएर खुलेको साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य उतारचढाव देखिएको छ ।
सोमबार बजार ४.३४ अंकले घटेर २,६२९.८२ विन्दुमा बन्द भएको छ । यस दिन बजारमा कुल ३४१ वटा कम्पनीका १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब २४ लाख २१ हजार १६८ रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका समूहहरूमध्ये जलविद्युत, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड र ट्रेडिङ बाहेकका अन्य सबै उपसमूहका सूचकहरूमा गिरावट आएको छ ।
कम्पनीगत रूपमा हेर्दा, बेनी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ भने माथिल्लो मैलुन खोला जलविद्युतको मूल्य ५.८१ प्रतिशतले उकालो लागेको छ । यता, चिर्ख्वा हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ७.९२ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा भने घलेम्दी हाइड्रोले २३ करोड ६६ लाख रुपैयाँ र शिवम सिमेन्टले २० करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार गर्दै अग्रस्थानमा रहेका छन् ।

