काठमाडौँ । भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सङ्कलित रकम र प्रभावित स्थानीय तह तथा वडामा भएको खर्चको पारदर्शी विवरण सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
समितिको आज बसेको बैठकमा कोषको कूल रकम, प्राप्त स्रोत, विनियोजन तथा वडा र पालिकागत खर्चको अवस्थाबारे गम्भीर छलफल भएको थियो । बैठकमा समिति सभापति कृष्णप्रसाद पौडेलले विपद् सङ्कटग्रस्त क्षेत्रमा पुगेको राहत र क्षतिपूर्तिको विस्तृत विवरण तुरुन्त उपलब्ध गराउन निर्देशन दिएका छन् ।
बैठकमा जानकारी दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले हाल प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष र राहत कोषमा गरी रु १८ अर्ब २८ करोड पाँच लाख ३२ हजार ५९३ मौज्दात रहेको बताए । बैंकमार्फत प्राप्त रकमको स्रोतगत विवरण भने छिट्टै उपलब्ध गराउने उनले स्पष्ट पारे ।
त्यसैगरी अर्थ सचिव डा. घनश्याम उपाध्यायका अनुसार भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) मार्फत हालसम्म रु २४ करोड २० लाख हस्तान्तरण भइसकेको छ । रसुवा र भोटेकोशी क्षेत्रका लागि विभिन्न चरणमा गरी कूल रु २४ करोड २० लाख बजेट परिचालन गरिएको छ । साथै, विपद् व्यवस्थापनमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका लागि गरी रु दुई अर्ब ५४ करोडको स्रोत सहमति दिइएको र रु २६ करोड पाँच लाख ३५ हजार निकास भइसकेको छ ।
राष्ट्रिय योजना आयोगको प्रारम्भिक विवरण अनुसार विपद्का कारण रु चार खर्ब आठ अर्ब २९ करोड बराबरको भौतिक नोक्सानी भएको छ भने पुनःनिर्माणका लागि रु सात खर्ब २३ अर्ब ३१ करोड आवश्यक पर्ने अनुमान छ । विपद्मा ज्यान गुमाएका राष्ट्रसेवकका परिवारलाई प्रतिमृतक रु १० लाख राहत दिने र घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णयसमेत भएको छ । भोटेकोशी र त्रिशूली बाढीका विस्थापितलाई छ महिनासम्म अस्थायी बसोबास राहत दिइनेछ ।
पुनःनिर्माणका लागि विपद् परिषद्बाट रु दुई खर्ब २५ अर्ब ७७ करोड आठ लाख बराबरका आयोजना स्वीकृत भइसकेका छन् । मन्त्रालयहरूले प्राथमिकताका आधारमा प्रस्ताव पेस गरेपछि अर्थ मन्त्रालयले खरिद प्रक्रिया अघि बढाउने जनाएको छ । तत्कालीन राहतका लागि प्रधानमन्त्री कोषको रकम र दीर्घकालीन पुनःनिर्माणका लागि नियमित बजेट परिचालन गरिनेछ ।

