काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई कुनै दबाब वा निर्देशन नदिएको सो दलका प्रवक्ता जगदीश खरेलले स्पष्ट पारेका छन् ।
आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै सांसदसमेत रहेका खरेलले प्रहरी प्रमुख दानबहादुरलाई पदबाट हटाउने विषयमा पार्टीको कुनै संलग्नता नरहेको बताएका हुन् ।
सुरक्षा निकायको नेतृत्व फेरबदल गर्ने वा यथावत् राख्ने अधिकार पूर्ण रूपमा सरकारको क्षेत्राधिकारभित्र पर्ने उनको भनाइ छ ।
पछिल्लो समय आईजीपी परिवर्तनको चर्चा चलिरहँदा सत्ता साझेदार दलको तर्फबाट यस्तो आधिकारिक धारणा बाहिर आएको हो ।
खरेलले प्रशासनिक तथा सुरक्षा नेतृत्वको निरन्तरता र हेरफेर सरकारको आफ्नै निर्णय र विवेकमा निर्भर रहने विषय भएको उल्लेख गरे ।

