काठमाडौँ । धार्मिक तथा सांस्कृतिक रूपले अत्यन्तै महत्त्वपूर्ण मानिने नेपालको जनकपुरधाम र भारतको अयोध्याबिच अब प्रत्यक्ष साप्ताहिक रेल सेवा सञ्चालन हुने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको आगामी मंसिर ६ गतेदेखि सुरु हुने औपचारिक भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीय रेल मन्त्रालयले शनिबार यससम्बन्धी प्रस्तावलाई औपचारिक स्वीकृति प्रदान गरेको हो ।
रामायण सर्किटअन्तर्गत माता सीताको जन्मस्थल जनकपुरधाम र भगवान् रामको जन्मस्थल अयोध्यालाई रेलमार्गले जोड्ने यो निर्णयले दुई देशबिचको सीमापार आवागमनलाई निकै सहज बनाउनेछ । भारतीय रेल मन्त्रालयका अनुसार जनकपुरधामदेखि अयोध्या क्यान्टसम्मको कुल दूरी करिब ६०४ किलोमिटर रहनेछ । बिहार र उत्तर प्रदेशका विभिन्न सहर तथा बस्तीहरू हुँदै गुड्ने यो रेल सेवा सञ्चालनका लागि दुवै देशका अधिकारीहरूबिच आवश्यक प्राविधिक तथा व्यवस्थापकीय छलफलपछि अन्तिम सहमति जुटेको हो ।
स्वीकृत तालिकाबमोजिम यात्रुवाहक रेल प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गर्नेछ भने प्रत्येक सोमबार अयोध्या क्यान्टबाट जनकपुरधामका लागि फर्कनेछ । यात्राका क्रममा उक्त रेल जयनगर, मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाम स्टेसनहरूमा रोकिने तालिका तय गरिएको छ ।
यसअघि गत जुन महिनामा पनि नेपाल र भारतबिच सीमापार रेल सञ्जाल विस्तार र जनकपुर–अयोध्या खण्डमा रेल सञ्चालन गर्ने विषयमा द्विपक्षीय छलफल भएको थियो । नयाँ रेल सेवाले दुवै तीर्थस्थलको दर्शन गर्न जाने तीर्थयात्री र पर्यटकलाई मात्र नभई शिक्षा, व्यापार तथा पारिवारिक भेटघाटका लागि ओहोरदोहोर गर्ने सर्वसाधारणलाई समेत ठुलो राहत मिल्ने भारतीय रेल मन्त्रालयको विश्वास छ ।
यसैगरी, रेलमार्ग आसपासका होटल व्यवसाय, स्थानीय व्यापार तथा परम्परागत हस्तकला उद्योगले समेत प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ । शताब्दीयौँ पुरानो सांस्कृतिक र सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै सीमावर्ती क्षेत्रका नागरिकलाई यातायातको भरपर्दो विकल्प दिन यो सेवा कोसेढुङ्गा साबित हुने देखिएको छ ।

