काठमाडौँ । नेपाल–भारतबीच ऊर्जा तथा जलस्रोत क्षेत्रको साझेदारीलाई थप गति दिने विषयमा सिंहदरबारमा उच्चस्तरीय कूटनीतिक संवाद भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको हो ।
भेटका क्रममा मन्त्री श्रेष्ठले नवनियुक्त राजदूत दलेलालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई ऊर्जा सहकार्यमार्फत अझ सुदृढ बनाउनुपर्ने धारणा राखे । छलफलमा अन्तरदेशीय विद्युत् प्रसारण लाइनको पूर्वाधार विस्तार गर्ने, निर्माणाधीन आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्ने तथा भारततर्फ हुने विद्युत् निर्यातको कोटा बढाउन आवश्यक सहजीकरण गर्ने विषयले प्राथमिकता पाएको छ ।
यसैगरी, नेपालमा सौर्य ऊर्जाको प्रवर्द्धन तथा विकासमा भारतीय पक्षसँग साझेदारी गर्ने र भूमिगत जलस्रोतको पुनर्भरण सम्बन्धी अध्ययन–अनुसन्धानमा संयुक्त सहकार्य गर्ने सम्भावनाबारे समेत दुवै पक्षबीच विचारविमर्श भएको मन्त्रालयले जनाएको छ ।
द्विपक्षीय हितका ऊर्जा तथा जलस्रोत आयोजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउन दुवै पक्ष सहमत भएका छन् ।

