काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज दिउँसो १२ बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको समितिको सभाकक्षमा बस्दैछ ।
आजको बैठकको मुख्य कार्यसूची मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ माथि सरोकारवालासँग छलफल गरी उनीहरूको धारणा लिने रहेको छ ।
उक्त छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, मेलमिलाप परिषद्का अध्यक्ष तथा सचिव, काठमाडौं र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकाका न्यायिक समिति संयोजकहरू सहभागी हुनेछन् ।
यसैगरी, नेपाल बार एसोसिएसन, नेपाल नगरपालिका महासंघ, गाउँपालिका राष्ट्रिय महासंघ र प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रका प्रतिनिधिहरूलाई पनि बैठकमा आमन्त्रण गरिएको छ ।

