काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा तरलता बढाउने तथा मूल्य निर्धारण प्रणालीलाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित अन्तर्दिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) सञ्चालनको तयारी अघि बढाएको छ ।
यसका लागि बोर्डले ‘अन्तर्दिवसीय धितोपत्र कारोबारसम्बन्धी नियमावली, २०८३’ को प्रारम्भिक मस्यौदा तयार गरी सार्वजनिक गरेको छ । सरोकारवालाहरूलाई आगामी मंसिर ४ गतेसम्म आफ्ना सुझाव पठाउन आग्रह गरिएको छ ।
यसअघि गत असोज ८ गते अवधारणापत्र सार्वजनिक गरेको बोर्डले सोही आधारमा यो नियमावलीको मस्यौदा तयार पारेको हो । मस्यौदाअनुसार इन्ट्राडे ट्रेडिङ सञ्चालन गर्न स्टक एक्सचेन्ज र सेयर ब्रोकरले बोर्डबाट पूर्वस्वीकृति लिनुपर्नेछ भने तोकिएका मापदण्ड पूरा गरेका सूचीकृत कम्पनीका धितोपत्रमा मात्र यस्तो कारोबार गर्न पाइनेछ । लगानीकर्तालाई यो सुविधा दिनुअघि ब्रोकरले उनीहरूको पहिचान, वित्तीय तथा जोखिम बहन क्षमता परीक्षण गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
प्रस्तावित नियमावलीमा अन्तर्दिवसीय कारोबार गर्दा सोही दिन खरिद वा बिक्री गरी कायम भएको खुला पोजिसन (ओपन पोजिसन) सोही दिन नै बन्द गरिसक्नुपर्नेछ । तोकिएको समयभित्र लगानीकर्ता आफैँले पोजिसन बन्द नगरेमा प्रणालीमार्फत स्वतः बन्द (अटो स्क्वायर अफ) हुनेछ ।
यस्तै, कारोबारका लागि आवश्यक मार्जिन तथा बजारको उतारचढाव अनुसार भेरिएसन मार्जिन कायम गर्नुपर्नेछ । जोखिम न्यूनीकरणका लागि लगानीकर्ता, ब्रोकर र समग्र बजारका लागि अधिकतम कारोबार सीमा (एक्सपोजर) तोकिनेछ । ब्रोकरहरूले वास्तविक समयमै जोखिम नियन्त्रण गर्न सक्ने प्रविधि, आन्तरिक नियन्त्रण प्रणाली र गुनासो सुनुवाइ संयन्त्र तयार गर्नुपर्ने मस्यौदामा उल्लेख छ ।

