सर्लाही । वडा सदस्यको हस्ताक्षर कीर्ते गरेर गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरेको आरोपमा बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन् ।
आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गर्ने क्रममा अनियमितता भएको भन्दै प्रहरीमा उजुरी दर्ता भएको थियो । २०८० असार १० गते आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक महिला वडा सदस्यको हस्ताक्षर जताततै दुरुपयोग गरी नीति तथा कार्यक्रम जबर्जस्ती पारित गराइएको आरोप उजुरीमा उल्लेख छ । सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।
जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले ५५ वर्षीय अध्यक्ष रायलाई गाउँपालिका–१ स्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो ।
हाल उनलाई सरकारी कागजात कीर्तेसम्बन्धी कसुरअन्तर्गत हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

