काठमाडौँ । आज शुक्रबार देशभर कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल हिमाली भू-भागमा आंशिक बादल देखिएको छ भने तराई क्षेत्रका केही स्थानमा हुस्सु र तुवाँलो लागेको छ ।
दिउँसोको समयमा कोशी र बागमती प्रदेशका हिमाली भेग तथा देशका पहाडी भू-भागमा आंशिक बादल लाग्ने अनुमान गरिएको छ । अन्य स्थानमा भने मौसम मुख्यतया सफा रहनेछ । यस क्रममा कोशी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ ।
आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रसँगै कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बादल छाउनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
बिहानीपख उपत्यका र खोँचहरूका साथै तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

