Khaptad Organic Nepal

इलाम । पूर्वीनाका काँकरभिट्टाबाट करिब ३० किलोमिटर उत्तरमा अवस्थित इलामको रोङ गाउँपालिका–६, सलकपुर व्यावसायिक सुन्तला खेती र कृषि पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।

करिब ९० हेक्टर क्षेत्रफलमा फैलिएको सुन्तला खेतीबाट स्थानीय किसानले वार्षिक तीन करोडदेखि चार करोड रुपैयाँसम्म आम्दानी भित्र्याउन सफल भएका छन् ।

अहिले सलकपुरका बगानहरूमा लटरम्म पाकेर पहेँलपुर भएका सुन्तलाले गाउँको रौनक बढाएको छ । बोटबाटै ताजा सुन्तला टिपेर खान, स्वाद लिन र बगानमा तस्बिर खिच्न आन्तरिकसँगै भारतीय पर्यटकहरूको बाक्लो चहलपहल देखिन थालेको छ । वडाध्यक्ष सत्यम राईका अनुसार सामान्य दिनमा दैनिक करिब एक सय जना पर्यटक सलकपुर पुग्ने गरेका छन् । वडा कार्यालयको तथ्याङ्कअनुसार यहाँ वार्षिक औसत ४५० देखि ६०० मेट्रिक टनसम्म सुन्तला उत्पादन हुने गर्दछ । मौसम अनुकूल भएको र रोगकिराको प्रकोप कम भएका वर्षहरूमा उत्पादन अझ बढ्ने गरेको छ ।

गाउँका एक सयभन्दा बढी घरपरिवार व्यावसायिक सुन्तला खेतीमा आबद्ध छन् । रोगका कारण पुराना बोटहरू सुक्दै गएपछि किसानहरूले नयाँ बगान विस्तार गर्ने क्रमलाई समेत तीव्रता दिएका छन् । यहाँ उत्पादित सुन्तला स्वादिलो र रसिलो हुने भएकाले बगानबाटै सिधै बिक्री हुने गरेको छ । व्यापारी र पर्यटक बगानमै पुगेर सुन्तला खरिद गर्ने भएकाले किसानलाई बजारको समस्या छैन । यहाँको सुन्तला झापाका काँकरभिट्टा, बिर्तामोड, दमक र मोरङको विराटनगरका साथै सीमावर्ती भारतीय बजार सिलिगुडी र नक्सलबारीमा ‘सलकपुरको सुन्तला’ को पहिचानसहित बिक्री हुँदै आएको छ । हरेक वर्ष भारतको कोलकातामा आयोजना हुने सुन्तला महोत्सवमा समेत यहाँको सुन्तला प्रदर्शन तथा बिक्रीका लागि लगिने गरिएको छ ।

सुन्तला खेतीले गाउँमा घरबास (होमस्टे) पर्यटनलाई समेत प्रवर्द्धन गरेको छ । स्थानीय किसान देबेन खड्काका अनुसार गाउँका करिब ३० घरमा सञ्चालित घरबासमा बिदाका दिन विशेष गरी शुक्रबार र शनिबार पाहुनाको चाप अत्यधिक हुने गर्दछ । निन्दा–सलकपुर (कदम पदमार्ग) हुँदै पैदलयात्रा तथा सवारीसाधनमार्फत ती दिनमा झापाका बिर्तामोड, दमक, धुलाबारी, मोरङको उर्लाबारी तथा भारतको सिलिगुडी, दार्जिलिङ र कोलकाताबाट ३०० देखि ५०० सम्म पर्यटक भित्रिने गरेका छन् । पर्यटकले बगानको अवलोकनसँगै नजिकैको गुर्धुम डाँडाबाट सूर्योदयको मनमोहक दृश्यसमेत नियाल्ने गरेका छन् ।

सलकपुरमा ३० वटा ठूला सुन्तला बगान रहेका छन् । खड्काका अनुसार बाहिरी बजारमा सुन्तलाको मूल्य प्रतिकिलो २१० देखि २२० रुपैयाँसम्म पर्ने भए पनि बगानमै पुग्ने पर्यटकले प्रतिकिलो १३० रुपैयाँमा ताजा सुन्तला किन्न पाउँछन् । १० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका खड्काले विगतका वर्षको तुलनामा यस वर्ष उत्पादनमा सुधार आएको बताए ।

विसं २००४ मा दार्जिलिङबाट बसाइँ सरेर आएका गौरीलाल लामाले सुरु गरेको सुन्तला खेतीले अहिले बृहत् व्यावसायिक रूप लिएको हो । सुरुवाती चरणमा दार्जिलिङबाट बिरुवा ल्याएर रोपिएको भए पनि पछिल्लो समय पाल्पाबाट ल्याइएका उन्नत जातका बिरुवाले राम्रो उत्पादन दिइरहेका छन् । सलकपुर, कुवापानी र जौबारी क्षेत्र सुन्तलासँगै अलैँची, अकबरे खुर्सानी, अम्लिसो र मह उत्पादनका लागि समेत प्रख्यात मानिन्छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।