काठमाडौँ । तोकिएको समयभित्र निर्माणको जिम्मेवारी पूरा नगर्ने ७ वटा निर्माण कम्पनीलाई सरकारले कालो सूचीमा राखेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीहरूलाई कालो सूचीमा समावेश गरिएको जानकारी गराएको हो ।
विभिन्न सार्वजनिक निकायहरूबाट कालो सूचीमा राख्नका लागि सिफारिस भई आएअनुसार उक्त कारबाही गरिएको कार्यालयले स्पष्ट पारेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम जिम्मेवारीअनुसार काम नगर्ने निर्माण व्यवसायीहरूलाई यो कानुनी दायरामा ल्याइएको सूचनामा उल्लेख छ ।
कार्यालयका अनुसार ती कम्पनीहरूलाई न्यूनतम १ वर्षदेखि अधिकतम अढाई वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ । यो प्रतिबन्ध लागू रहेको अवधिसम्म कालो सूचीमा परेका कुनै पनि निर्माण कम्पनीले सार्वजनिक निकायका खरिद कारबाहीमा सहभागी हुन पाउने छैनन् ।


