Khaptad Organic Nepal

काठमाडौँ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा प्रधानमन्त्री वालेन्द्र शाहले हिंसापीडितको सुरक्षा र न्यायमा पहुँच सुनिश्चित गर्न सबै सरोकारवाला पक्षलाई अपिल गरेका छन् ।

आजदेखि विश्वव्यापी रूपमा सुरु भएको अभियानको शुभकामना सन्देश जारी गर्दै उनले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै उतार्नुपर्ने र दण्डहीनताको अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन् ।

प्रधानमन्त्री शाहले लैङ्गिक हिंसालाई मानव अधिकारको गम्भीर उल्लङ्घनका रूपमा व्याख्या गर्दै यसले समतामूलक समाज निर्माणमा मुख्य बाधा पुर्‍याएको बताएका छन् । समाजका महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत वर्ग हिंसाको बढी जोखिममा रहेको उल्लेख गर्दै उनले पछिल्लो समय डिजिटल माध्यमबाट हुने हिंसाले समेत गम्भीर चुनौती थपेको औँल्याएका छन् ।

संविधानले प्रत्याभूत गरेका समानता, सामाजिक न्याय र समावेशिताका मूल्यमान्यतालाई व्यवहारमा लागू गर्न सबै किसिमका हिंसाको रोकथाम तथा दोषीलाई कानुनी दायरामा ल्याउनु अनिवार्य रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । सरकारको प्राथमिकतामा कानुनी तथा संस्थागत संरचनाको सुदृढीकरण, महिला सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन र पीडितको पुनःस्थापना रहेको उनले स्पष्ट पारेका छन् ।

यस्ता सरकारी कार्यक्रमलाई नतिजामुखी बनाउन कानुनको प्रभावकारी कार्यान्वयन, जनचेतना अभिवृद्धि, संस्थागत जवाफदेहितासँगै संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारबीच बलियो समन्वय आवश्यक रहेको प्रधानमन्त्री शाहको भनाइ छ । साथै, यसै वर्षको भदौ महिनामा भोटेकोशी क्षेत्रमा गएको बाढीले पुर्‍याएको क्षतिलाई स्मरण गर्दै उनले प्राकृतिक विपद्को समयमा लैङ्गिक हिंसाका घटना बढ्न सक्ने जोखिमप्रति विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।

अभियानलाई सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, अधिकारकर्मी र आम सर्वसाधारणको सक्रिय सहभागिता एवं ऐक्यबद्धताका लागि उनले आह्वान गरेका छन् । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिँदै आएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।