बारा । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा प्रभावित क्षेत्रका बासिन्दालाई अन्याय नहुने गरी उचित पुनःस्थापना र व्यवस्थापन गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ‘गनेस’ले बताएका छन् ।
आज सिमरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विमानस्थल निर्माणको काम चाँडै अगाडि बढ्ने उल्लेख गरेका हुन् ।
कार्यक्रममा बोल्दै उनले निजगढ विमानस्थल बन्नेमा ढुक्क हुन आग्रह गरे । ‘निजगढ विमानस्थल बन्छ, त्यहाँ भएका प्रभावित जनता अन्यायमा नपर्ने गरी पुनःस्थापना हुन्छ,’ मन्त्री पौडेलले भने । यद्यपि, आयोजना निर्माणका लागि आवश्यक बजेट सुनिश्चित भइनसकेकाले प्रक्रियामा केही ढिलाइ हुन गएको उनले स्पष्ट पारे ।
एकातिर सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रतिबद्धता जनाइरहँदा अर्कोतिर विमानस्थलको चार किल्लाभित्र पर्ने टाँगिया बस्तीका बासिन्दालाई जग्गाधनी पुर्जा वितरण गर्ने प्रक्रिया समेत अघि बढाइएको छ । स्थानीय जनप्रतिनिधिहरूले राष्ट्रिय गौरवको यस आयोजनाको मुख्य वन क्षेत्रभित्र बसोबास गर्दै आएका टाँगिया बस्तीका नागरिकलाई बसोबासकै आधारमा अव्यवस्थित बसोबासीका रूपमा पुर्जा उपलब्ध गराउन जिल्लास्थित भूमि आयोगमा सिफारिस पठाएका छन् ।

