काठमाडौँ । कर्णाली प्रदेशमा सञ्चालन भइरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनको खेल सकिँदा बागमती प्रदेशले सर्वाधिक १९ पदकसहित शीर्ष स्थान कब्जा गरेको छ ।
विभिन्न स्पर्धामा २२ स्वर्ण, २२ रजत र २४ कास्य गरी कुल ६८ पदकको छिनोफानो भइसक्दा बागमतीले ९ स्वर्ण, ४ रजत र ६ कास्य पदक आफ्नो पोल्टामा पार्दै बलियो अग्रता बनाएको हो । पदक तालिकाको दोस्रो स्थानमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ६ स्वर्ण, १ रजत र २ कास्यसहित कुल ९ पदक जितेको छ ।
विभागीय टोलीहरूबिच पनि पदकका लागि कडा टक्कर देखिएको छ । नेपाल पुलिस क्लबले ३ स्वर्ण, ७ रजत र ८ कास्य गरी १८ पदक हात पारेको छ भने नेपाल आर्मीले २ स्वर्ण, ८ रजत र ८ कास्यसहित समान १८ पदक जित्दै पछ्याइरहेको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशले १ स्वर्ण र २ रजत गरी ३ पदक जित्दा कोशी प्रदेशले १ स्वर्ण पदकमा खाता खोलेको छ । प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते हुने तय भए पनि तालिकाअनुसार केही खेलका प्रतिस्पर्धाहरू भने अगावै सुरु भइसकेका छन् ।

