काठमाडौँ । इरानमाथि पुनः सैन्य कारबाही सुरु गर्न इजरायलका कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कूटनीतिक दबाब बढाएका छन् ।
एक्सियोस, जेरुसेलम पोस्ट र फाइनान्सियल टाइम्स जस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार नेतन्याहुले यस विषयमा सहमति जुटाउन उच्चस्तरीय वार्ता र दैनिक संवादलाई तीव्रता दिएका हुन् ।
नेतन्याहुले आफ्नो योजना सफल बनाउन इजरायली गुप्तचर एजेन्सी मोसादका प्रमुख रोमन गोफम्यानलाई अमेरिका पठाएका छन् । शुक्रबार वासिङ्टन पुगेका गोफम्यानले त्यहाँ सीआईए प्रमुख जोन रेटक्लिफसँग भेटवार्ता गर्ने कार्यक्रम छ । वासिङ्टनको भेटपछि उनी ट्रम्पका विशेष दूत स्टिभ विटकफसँग छलफल गर्न मियामी जानेछन् । फाइनान्सियल टाइम्सका अनुसार नेतन्याहु स्वयंले पनि विगत केही दिनदेखि राष्ट्रपति ट्रम्पलाई दैनिक फोन गरिरहेका छन्, जहाँ दुई नेताबीच नोभेम्बर ५ मा इरानमाथि आक्रमण गर्ने सम्भावनाबारे कुराकानी भएको बताइएको छ ।
यद्यपि, अमेरिकी राष्ट्रपति ट्रम्प भने तत्काल इजरायलको यो प्रस्ताव स्वीकार गर्ने पक्षमा देखिएका छैनन् । प्रत्यक्ष ठूलो सैन्य आक्रमण गर्नुको सट्टा इरानमाथि आर्थिक दबाब बढाउने रणनीति अमेरिकाले लिएको छ । यसका लागि अमेरिकाले इरानविरुद्धको समुद्री नाकाबन्दीलाई निरन्तरता दिँदै उसको व्यापार र आम्दानीको स्रोत सुकाउने नीति अपनाएको छ ।
अमेरिकाको यो आर्थिक दबाबको नीतिलाई साउदी अरेबिया, कतार, यूएई, कुवेत र बहराइन जस्ता खाडी राष्ट्रहरूले समेत साथ दिएका छन् । राष्ट्रपति ट्रम्पका अनुसार साउदी अरेबियाले केही समयका लागि वर्तमान अवस्थालाई नै यथावत् राख्न आग्रह गरेको छ । इरान आन्तरिक रूपमा कमजोर हुँदै गइरहेको निष्कर्ष निकाल्दै साउदी अरेबियासहित अन्य खाडी मुलुकहरूले पनि अमेरिकालाई तत्काल कुनै हतारमा सैन्य कदम नचाल्न सुझाव दिएका छन् ।

