धरान । तिहारको पाँच दिनको अवधिमा सुनसरीको धरानस्थित कृषिउपज बजारस्थलबाट करिब ३० टन फलफूलको कारोबार भएको छ ।
यमपञ्चकको विशेष अवसरमा उपभोक्ताको माग उच्च हुँदा यस बजारबाट मात्रै करिब एक करोड रुपियाँ बराबरको फलफूल बिक्री भएको सम्बन्धित बजार व्यवस्थापनले जनाएको छ ।
बजारस्थलका प्रबन्धक लक्ष्मण भट्टराईका अनुसार तिहारको समयमा स्याउ, अनार, सुन्तला, अंगुर तथा किवीलगायतका फलफूलको खपत उल्लेख्य रूपमा बढेको हो । यसरी बिक्री भएका कुल फलफूलमध्ये लगभग आधा हिस्सा नेपाली उत्पादनको रहेको छ । धनकुटा, तेह्रथुम, ताप्लेजुङ, भोजपुर र सङ्खुवासभा लगायतका पूर्वी पहाडी जिल्लाहरूबाट किसान तथा व्यापारीमार्फत सुन्तला, किवी, एभोकाडो, अम्बा र ड्रागन फ्रुट धरान बजारमा भित्रिने गरेका छन् । स्थानीय उत्पादनका साथै भारत र चीनबाट आयात गरिएका स्याउ, अनार र अंगुरसमेत यहाँबाट पूर्वी नेपालका विभिन्न सहर तथा ग्रामीण बजारहरूमा पुग्ने गरेको छ ।
धरान कृषिउपज बजारस्थल कोशी प्रदेशका पूर्वी पहाडी जिल्लाहरूमा उत्पादित कृषि उपजहरूको सङ्कलन, बिक्रीवितरण तथा बजारीकरण गर्ने एक मुख्य केन्द्रका रूपमा स्थापित छ ।

