काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले भोलि बुधबारका लागि सुनुवाइको मिति तय गरेको छ ।
यसअघि गत सोमबारका लागि पहिलो सुनुवाइ तोकिएको भए तापनि छठ पर्वको सार्वजनिक बिदा परेकाले अदालतको नियमित कामकाज प्रभावित भई पेसी भोलिका लागि सारिएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।
कार्कीले आफूलाई प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ को व्यवस्थाविपरीत पदबाट हटाइएको दाबी गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए । सफाइको मौकासमेत नदिई प्राकृतिक न्यायको सिद्धान्तविपरीत आफूलाई जिम्मेवारीबाट मुक्त गरिएको उनको जिकिर छ । रिट निवेदनमा उनले मन्त्रिपरिषद्को उक्त निर्णय खारेज गरी आफूलाई पुरानै पदमा पुनर्बहाली गर्न तथा नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीलाई कामकाज गर्नबाट रोक लगाउन अन्तरिम आदेशको माग गरेका छन् ।
यता, सरकारले भने डा. केसीलाई प्रहरी प्रमुखमा नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको नयाँ जिम्मेवारी तोकेको थियो । गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय भएकै दिन कार्कीले सल्लाहकारको नियुक्तिपत्र बुझिसकेको जनाएको छ ।
भोलि हुने प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय दिनेछ ।

