काठमाडौँ । आगामी चैतको पहिलो साताभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित निर्वाचन आयोगले मिति घोषणाका लागि सरकारसँग परामर्श तीव्र बनाएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणअगावै निर्वाचनको मिति तय गर्न आयोगले गृहकार्य अघि बढाएको हो ।
प्रधानमन्त्री शाह आगामी मंसिर ६ गते तीनदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्ने कार्यक्रम छ । सोही भ्रमणअघि प्रधानमन्त्रीलाई भेटेर निर्वाचनको मिति तोक्न आग्रह गर्ने तयारी भइरहेको आयोग स्रोतले जनाएको छ ।
निर्वाचन तयारीकै सन्दर्भमा आयोगको टोलीले शनिबार गृहमन्त्री सुधन गुरुङसँग छलफल गरेको छ । भेटमा आयोगका पदाधिकारीले निर्वाचन व्यवस्थापनका लागि कम्तीमा चार महिनाको समय आवश्यक पर्ने भएकाले सरकारले अविलम्ब मिति घोषणा गर्नुपर्ने प्रस्ताव राखेका छन् । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगावै निर्वाचन गरिसक्नुपर्ने कानुनी प्रावधान रहेकाले आयोगले चैतको पहिलो सातालाई सम्भावित मितिका रूपमा सरकारसमक्ष पेस गरेको हो ।
गृहमन्त्री गुरुङसँगको संवादपछि आयोगका पदाधिकारीहरू उत्साहित देखिएका छन् । छलफलका क्रममा गृहमन्त्री गुरुङले विदेशमा रहेका नेपाली नागरिक तथा अन्तरजिल्लाका मतदातालाई आगामी स्थानीय निर्वाचनदेखि नै मताधिकार प्रदान गर्न सरकार सकारात्मक रहेको बताएका छन् । यसका लागि आवश्यक कानुनी संशोधन गर्न र विद्यमान जटिलता हटाउन आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता गृहमन्त्रीले जनाएको एक निर्वाचन आयुक्तले जानकारी दिए । गृहमन्त्री गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणबाट स्वदेश फर्किएपछि यस विषयमा थप छलफल हुने बताइएको छ ।
यसैबीच, निर्वाचनको वातावरण निर्माण र तयारीबारे राजनीतिक दलहरूको धारणा बुझ्न आयोगले सर्वदलीय बैठकसमेत आह्वान गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलहरूसँग आगामी मंसिर ४ गते छलफल तय गरिएको छ ।

