काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को औपचारिक निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय टोली १० दिने अध्ययन भ्रमणका लागि आज चीन प्रस्थान गरेको छ ।
पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा गएको उक्त प्रतिनिधिमण्डलले चीन बसाइका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह र संस्थागत क्षमता अभिवृद्धिलगायतका विषयमा अनुभव आदानप्रदान तथा छलफल गर्ने कार्यक्रम छ ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार दुवै दलले यस भ्रमणलाई नेपाल र चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास साझेदारीलाई थप उचाइमा पुर्याउने महत्त्वपूर्ण अवसरका रूपमा लिएका छन् ।
भ्रमण दलमा महामन्त्री आचार्यसहित सांसदहरू गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा र रमेशकुमार सापकोटा सहभागी छन् ।
यस्तै, टोलीमा डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा पनि रहेका छन् ।

