काठमाडौँ । सुर्खेतबाट मुगुको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा तालतर्फ प्रस्थान गरेको एक निजी गाडी दुर्घटनामा पर्दा तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार आइतबार छायानाथ रारा नगरपालिका-७ टोप्लास्थित कच्ची सडक खण्डमा बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी अनियन्त्रित भई सडकबाट करिब ६ सय मिटर तल खसेको हो । दुर्घटनामा परी काठमाडौं कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
सोही दुर्घटनामा परी ललितपुर महानगरपालिका-१५ निवासी ५४ वर्षीया अन्जु थापा र गाडी चालक ५८ वर्षीय कञ्चन थापा घाइते भएका छन् । दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायव उपरीक्षक रविराज थपलिया र ताल्चा विमानस्थल सुरक्षा गार्डबाट प्रहरी नायव निरीक्षक डम्बरबहादुर अधिकारीको संयुक्त नेतृत्वमा उद्धार टोली खटाइएको थियो ।
प्रहरी तथा स्थानीय बासिन्दाको सक्रियतामा उद्धार गरी घाइतेहरूलाई तत्काल जिल्ला अस्पताल पुर्याइएको थियो । अस्पताल पुग्नेबित्तिकै चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए ।
कुल पाँच जना सवार रहेको उक्त गाडीका घाइते दुई जनाको अहिले जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

