काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथामा मानवले पहिलोपटक सफलताका साथ पाइला टेकेको सुखद क्षणको स्मरण गर्दै आज ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ ।
सन् १९५३ मे २९ का दिन नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । सोही ऐतिहासिक दिनको महत्त्वलाई कदर गर्दै हरेक वर्ष मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा मनाउने गरिन्छ ।
यस वर्ष यो दिवस ‘हिमालयको भविष्यका लागि आवाजहरूलाई एकताबद्ध गर्दै’ भन्ने मूल नाराका साथ विभिन्न चेतनामूलक तथा औपचारिक कार्यक्रमहरू आयोजना गरी देशभर मनाइँदैछ ।

