काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा सक्रिय तुलसा अधिकारीलाई प्रहरीले थाइल्यान्डबाट नियन्त्रणमा लिएर नेपाल फिर्ता ल्याएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनलाई शनिबार राति काठमाडौँ अवतरण गराइएको हो । पक्राउ परेकी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ (फिरौती) तथा ठगीसम्बन्धी मुद्दा यसअघि नै दर्ता भइसकेको छ ।
अब उनलाई थुनछेक बहस र अन्य कानुनी प्रक्रियाका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जानकारी दिएको छ । अधिकारीलाई पक्राउ गर्नका लागि अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) मार्फत रेड नोटिस समेत जारी गरिएको थियो ।
गएको २०८२ साल चैत महिनामा उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरिएको थियो । उक्त आपराधिक घटनामा अधिकारीसहित कुल १० जनालाई प्रतिवादी बनाइएको छ ।
‘तुल्सा कलेक्सन प्रालि’ की सञ्चालक समेत रहेकी अधिकारीमाथि एक उद्यमीलाई जबरजस्ती करणी (बलात्कार) को झुटा मुद्दामा फसाउने डर देखाएर ‘ब्ल्याकमेल’ गरेको अभियोग छ । पीडित व्यवसायीका अनुसार अधिकारीले धम्की दिएर आफूबाट ४ करोड ५० लाख रुपैयाँ बराबरको नगद र विभिन्न जिन्सी सामानहरू असुल गरेकी थिइन् ।

