काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगितामा नर्वेलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै इङल्याण्ड अन्तिम चारमा प्रवेश गरेको छ ।
जुड बेलिङ्घमले दुई गोल गरेपछि इङल्याण्डले सेमिफाइनलको यात्रा तय गरेको हो । अब इङल्याण्डले फाइनल प्रवेशका लागि अर्जेन्टिना वा स्विट्जरल्यान्डमध्ये एक टोलीको सामना गर्नेछ ।
प्रतिस्पर्धात्मक खेलको ३६औँ मिनेटमा आन्द्रेयास शेल्डेरुपले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा एन्थोनी गोर्डनको पासमा बेलिङ्घमले गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो ।
दोस्रो हाफमा नर्वेका केही प्रहार असफल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको तेस्रो मिनेटमा मोर्गन रोजर्सको प्रहार नर्वेका गोलरक्षकले रोक्न नसक्दा फर्किएको बललाई बेलिङ्घमले गोलमा परिणत गरे ।
यस जितसँगै इङल्याण्ड सन् १९९० र २०१८ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।

