काठमाडौँ । मन्त्रालयले लामो समयदेखि अगाडि बढाएको विभागीय कारबाहीको प्रक्रियालाई पूर्णता दिँदै पशु सेवा विभागमा कार्यरत एक वरिष्ठ अधिकृतलाई पदबाट हटाएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेविरुद्ध परेको मुद्दामा अन्तिम निर्णय गर्दै उनलाई निजामती सेवाबाट हटाएको हो ।
निजामती सेवा ऐन, २०४९ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी मन्त्रालयले यस विषयमा लोक सेवा आयोगसँग परामर्श मागेको थियो । आयोगबाट प्राप्त सहमति र परामर्शका आधारमा ऐनको दफा ५९ को खण्ड (ख) अनुसार घिमिरेलाई ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने’ गरी सेवाबाट बर्खास्त गर्ने निर्णय गरिएको हो ।
यस विभागीय कारबाहीको औपचारिक जानकारी लोक सेवा आयोगलाई गराइसकिएको मन्त्रालयले जनाएको छ ।

