काठमाडौँ । माइतीघर क्षेत्रमा बर्खायाममा हुँदै आएको डुबानको वास्तविक प्राविधिक समस्या पहिल्याउन काठमाडौँ महानगरपालिकाले अध्ययन प्रक्रिया अघि बढाएको छ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले साझेदार निकायका प्रतिनिधिहरूलाई स्थलगत निरीक्षण गराउँदै डुबानको विस्तृत प्राविधिक प्रतिवेदन पेस गर्न निर्देशन दिएकी हुन्। मङ्गलबार माइतीघर मण्डला आसपासको क्षेत्र अनुगमन गर्दै उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय र महानगरका प्राविधिक विभागहरूलाई चाँडै समस्याको निकाससहितको प्रतिवेदन बुझाउन भनेकी छन्।
अनुगमनका क्रममा माइतीघर क्षेत्रमा ९० सेन्टिमिटरको ढल बिछ्याइएको भए पनि निकास हुने मुख्य ठाउँमा भने जम्मा ६० सेन्टिमिटरको मात्रै ढल रहेको भेटिएको छ। माथिल्लो भागको तुलनामा निकासतर्फ ढलको आकार सानो हुनु नै प्रारम्भिक रूपमा डुबानको प्रमुख कारण मानिएको छ। यसबाहेक माइतीघर मण्डला वरपर बनेका भौतिक संरचनाका कारण पनि भूमिगत ढल प्रणाली अवरुद्ध भएको हुनसक्ने अधिकारीहरूको अनुमान छ।
कार्यवाहक प्रमुख डंगोलले स्थानीय प्रशासन, पूर्वाधार निर्माण निकाय र अन्य सरोकारवालासँग एकीकृत सहकार्य गरेर माइतीघर क्षेत्रलाई स्थायी रूपमै डुबानमुक्त बनाइने प्रतिबद्धता जनाएकी छन्। सो निरीक्षण टोलीमा उपत्यका ट्राफिक प्रहरी, महानगरको विपद् व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग तथा महानगर प्रहरी बलका अधिकारीहरूको सहभागिता थियो।

