काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री सस्मित पोखरेल सहभागी हुन कीर्तिपुर पुग्दा युवाहरूको समूहले विरोध प्रदर्शन गरेको छ ।
विश्वविद्यालय परिसरमा भेला भएका युवाहरूले ‘नेपो बेबी’ भन्दै मन्त्री पोखरेलविरुद्ध नाराबाजी गरेका हुन् ।
प्रदर्शनकारीहरूले विश्वविद्यालयहरूमा हुँदै आएको राजनीतिक हस्तक्षेप अन्त्य हुनुपर्ने र योग्यताका आधारमा अवसर प्रदान गरिने प्रणाली (मेरिटोक्रेसी) लागू हुनुपर्ने माग अघि सारेका छन् ।
साथै, प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने मौजुदा कानुनी व्यवस्थालाई खारेज गर्नुपर्ने उनीहरूको अडान छ । ‘नेपो बेबी मुर्दावाद’ र ‘मेरिटोक्रेसी लागू गर’ जस्ता नारा लगाउँदै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूलाई स्थिति नियन्त्रणमा लिन प्रहरीले पक्राउ गरेको छ ।

