धनगढी । सेती प्रादेशिक अस्पतालमा अनसनरत डा. गोविन्द केसीका मागबारे छलफल गर्न सरकारले आज औपचारिक वार्ताको तयारी गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलका अनुसार सरकारले वार्ता र संवादका माध्यमबाटै उहाँका मागहरूको सम्मानजनक र सहमतिपूर्ण निकास खोज्ने प्रयास गरिरहेको छ।
शनिबार धनगढी पुग्नुभएका सचिव पौडेलले अस्पतालमै पुगेर डा. केसी र उहाँका सहयोगीहरूसँग अनौपचारिक संवाद गरी धारणा बुझ्नुभएको थियो। सोही संवादका आधारमा आइतबार औपचारिक वार्ता अघि बढाउन लागिएको हो। वार्ताका लागि प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य सचिवसमेत धनगढी पुगेर छलफलमा सहभागी हुने कार्यक्रम रहेको छ।
डा. केसी गत बिहीबारदेखि पाँचबुँदे माग राखेर सत्याग्रहमा बस्नुभएको हो। उहाँले सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ३०० शय्याको अस्पताल सञ्चालन गरी पठनपाठन सुरु गर्नुपर्ने तथा स्वार्थप्रेरित रूपमा गरिएका उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज हुनुपर्ने विषयलाई मुख्य मागका रूपमा उठाउनुभएको छ।

