काठमाडौँ । सुनसरी जिल्लामा शान्ति सुरक्षाको स्थितिमा सुधार आएसँगै जिल्ला प्रशासन कार्यालयले अधिकांश स्थानमा लगाइएको निषेधाज्ञा हटाएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सूचना जारी गर्दै साउन १७ गते बिहान ९:३० बजेदेखि साँझ ७ बजेसम्मका लागि चार वटा स्थानीय तहमा मात्रै निषेधाज्ञा कायम रहने जानकारी दिएका हुन्।
प्रशासनका अनुसार देवानगञ्ज गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका र हरिनगर गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा भने निषेधाज्ञा जारी नै रहनेछ।
यी चार पालिकाबाहेक सुनसरीका अन्य सबै भागबाट भने निषेधाज्ञा हटाइएको छ। स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम जिल्लाको समग्र सुरक्षा अवस्थाको विश्लेषण गरेर उक्त निर्णय लिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

