काठमाडौँ । मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच अमेरिकाले इरानमाथि गर्न लागेको सम्भावित ठूलो कारबाही तत्कालका लागि स्थगित गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अन्य मध्यपूर्वी मुलुकहरूको आग्रहमा कूटनीतिक सम्झौताका लागि अवसर दिन आक्रमण रोक्ने निर्णय लिएको जनाएका छन् । सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै ट्रम्पले नयाँ सम्झौताका आधारभूत बुँदाहरूमा सहमति नजिक पुगेको दाबी गरेका छन् ।
प्रस्तावित सहमतिमा अन्तर्राष्ट्रिय व्यापारका लागि अति संवेदनशील मानिने होर्मुज जलडमरूमध्य क्षेत्रलाई तत्काल पूर्ण रूपमा खुला गर्ने र इरानको आणविक कार्यक्रमबाट सिर्जित सुरक्षा जोखिम अन्त्य गर्ने विषय समावेश रहने बताइएको छ । इजरायलको समर्थन र समन्वयमा यो निर्णय लिइएको दाबी गरिए पनि ट्रम्पको घोषणाबारे इरानी पक्षबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।
यसअघि अमेरिकी सञ्चारमाध्यमहरूले वासिङ्टन र इजरायलले इरानका ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी भीषण हवाई आक्रमणको योजना बनाएको समाचार सार्वजनिक गरेका थिए । सोही विषयमा साउदी अरबका युवराज मोहम्मद बिन सलमानले ट्रम्पसँग टेलिफोन संवाद गर्दै सम्भावित युद्धले क्षेत्रीय सुरक्षामा पार्ने प्रभावप्रति चिन्ता व्यक्त गरेका थिए ।
यसैबीच, अमेरिकी सरकारले मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरूलाई उच्च सुरक्षा सतर्कता अपनाउन र परिस्थिति थप बिग्रेमा तत्काल उक्त क्षेत्र छाड्न तयार रहन निर्देशन दिएको छ ।
गत अप्रिलमा भएको युद्धविराम जुनमा भङ्ग भएयता दुवै देशबीच आक्रमण र प्रतिआक्रमणको शृङ्खला जारी छ । फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका-इजरायल र इरानबीचको यो सैन्य द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो उतारचढाव देखिँदै आएको छ ।

