काठमाडौँ । नयाँ कानुन निर्माण तथा सामयिक विषयमा छलफल चलाउनका लागि आज संघीय संसदका विभिन्न पाँचवटा समितिको बैठक एकैसाथ आयोजना गरिएको छ ।
प्रतिनिधि सभाअन्तर्गतका चार र राष्ट्रिय सभाअन्तर्गतको एक समितिले विभिन्न विधेयक तथा समसामयिक एजेन्डामाथि बहस गर्न लागेका हुन् ।
बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफललाई निरन्तरता दिइनेछ । सोही समयमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रस्तावित ‘पर्यटन विधेयक, २०८१’ का विषयमा सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूसँग सैद्धान्तिक छलफल गर्ने कार्यक्रम तय गरेको छ ।
यस्तै, बिहान १० बजे नै बोलाइएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बजारमा खाना पकाउने ग्यासको वर्तमान आपूर्ति व्यवस्थापनका सम्बन्धमा सरोकारवालाहरूसँग समीक्षा गरिँदैछ ।
उता बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ, जहाँ ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि सैद्धान्तिक तथा दफावार छलफल हुनुका साथै कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदन पेस गरिनेछ ।
राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक भने दिउँसो १ बजे बस्नेछ, जसमा समितिका पूर्वसभापति रामनारायण बिडारीसँग सरकारी आश्वासनका विषयमा विशेष परामर्श गरिनेछ ।

