काठमाडौँ । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायी र उद्योगहरूलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कडा कारबाही र निर्देशन जारी गरेको छ। काठमाडौँ उपत्यकाका विभिन्न ११ वटा उद्योग तथा व्यावसायिक फर्महरूमा सोमबार विभागले विशेष अनुगमन टोली खटाएको थियो।
उपभोक्ताहरूबाट ग्यास पाउन छाडिएको तीव्र गुनासो आएपछि विभागले ग्यास उद्योग तथा डिलरहरूलाई केन्द्रित गरी अनुगमन बढाएको हो। अनुगमनका क्रममा बजारमा ग्यासको माग उच्च रहेको र ग्यासको अभाव देखिएको विभागका निर्देशक एवं सूचना अधिकारी अनिल किँरातीले बताउनुभयो।
विभागका अनुसार अनुगमनका क्रममा पेप्सीकोलास्थित सगरमाथा ग्यास उद्योगलाई कृत्रिम अभाव सिर्जना नगर्न र डल्लुको ‘सिम्रन ग्यास स्टोर’ तथा चण्डिनीनगरको ‘युवा इन्टरप्राइजेज’ लाई सबै ग्राहकलाई समानुपातिक रूपमा ग्यास बिक्रीवितरण गर्न निर्देशन दिइएको छ। त्यसैगरी ललितपुरको खोकना दोबाटोमा रहेका ‘उमङ्ग इन्टरप्राइजेज’ र ‘सरस्वती खाद्य किराना पसल’ लाई अनिवार्य रूपमा बिल जारी गरी न्यायोचित ढंगले बिक्री गर्न भनिएको छ।
विभागले भक्तपुरको राधेराधेस्थित ‘दी बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन’ लाई खरिद बिल नराखेको कसुरमा ५ हजार रुपैयाँ जरिबाना तिराएको छ। यस्तै ललितपुरको भैँसेपाटीस्थित ‘हेल्दी बाइट्स सर्भिसेस’ लाई दर्ता, प्यान, र कर चुक्ताका कागजातसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ। अन्य विभिन्न खाजा घर तथा होस्टेलहरूलाई सरसफाइ, नापतौल, मूल्य सूची र बिलबीजक व्यवस्थित गर्न सचेत गराइएको छ।

