चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ स्थित शाहीचोकमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।
सोमबार बिहान महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७२८ नम्बरको बसले बाटोमा हिँडिरहेका अन्दाजी ३५ वर्षीय पुरुषलाई ठक्कर दिएको हो । दुर्घटनालगत्तै प्रहरीले गम्भीर घाइते अवस्थामा रहेका ती पुरुषको उद्धार गरी उपचारका लागि भरतपुरस्थित सरकारी अस्पताल पठाएको थियो । अस्पताल पुर्याउनासाथ चिकित्सकले बिहान ३ः१५ बजे उनलाई मृत घोषणा गरेका थिए ।
मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन । प्रहरीले ठक्कर दिने बस र चालक धादिङ नीलकण्ठ नगरपालिका–१४ का ४४ वर्षीय जितेन्द्रबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

