रोल्पा । शुक्रबार बिहान आएको पहिरोले घर पुरिँदा बेपत्ता भएका सुनछहरी गाउँपालिकाका तीन जना ज्येष्ठ नागरिकको शव उद्धार टोलीले फेला पारेको छ ।
बिहान करिब ८:१० बजेतिर स्थानीय वीरु घर्ती मगरको घरमाथिबाट अचानक पहिरो खसेको थियो । घटनालगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले खोजी तथा उद्धार कार्य सुरु गरेका थिए ।
लगातारको प्रयासपछि बिहान ११:३० बजेतिर उनीहरूको शव पहिरोबाट बाहिर निकालिएको प्रहरीले जानकारी दिएको छ ।
यस घटनामा परी ज्यान गुमाउनेहरूमा सुनछहरी गाउँपालिका–२ का ७७ वर्षीय वीरु घर्ती मगर, ६८ वर्षीया सनी घर्ती मगर र ७० वर्षीया लली घर्ती मगर रहेका छन् ।

