नुवाकोट । बाढीबाट पुगेको क्षति र जनधनको नोक्सानीलाई सम्बोधन गर्दै बेलकोटगढी नगरपालिकाले पीडित परिवारलाई तुरुन्तै नगद राहत दिने घोषणा गरेको छ ।
भोटेकोशी र त्रिशूली नदीको बहाव बढेर आएको बाढीका कारण घरबास गुमाएका, आफन्त गुमाएका वा परिवारका सदस्य बेपत्ता भएका नगरवासीलाई प्रतिपरिवार २५ हजार रुपैयाँ राहत वितरण गरिने भएको छ । प्रभावित नागरिकका लागि अस्थायी बसोबास र अत्यावश्यक राहत सामग्री व्यवस्थापनको काम समेत अघि बढाइएको नगरपालिकाले बताएको छ ।
यस्तै, बाढीले बालीनाली तथा खेतीयोग्य जमिन कटान गरी क्षति पुर्याएका किसान परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले तत्काल सहयोग उपलब्ध गराइनेछ । बाढीले घर पूर्ण रूपमा ध्वस्त बनाएको तर अन्यत्र घर बनाउने जग्गासमेत नभएका अति विपन्न परिवारको पहिचान गरी पुनःस्थापनाको प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ ।
वास्तविक पीडितको विवरण संकलनका लागि सम्बन्धित वडाका अध्यक्ष र वडा सचिवलाई जिम्मेवारी दिइएको छ । उनीहरूले तीन दिनभित्र प्रमाणित तथ्यांक नगरपालिकामा पेस गर्नुपर्नेछ ।
यसैबीच, वडा नम्बर ७ मा रहेका अस्थायी आवास केन्द्रहरू स्थानान्तरण गर्ने निर्णय भएको छ । शिलादेवी माध्यमिक विद्यालयमा रहेको केन्द्रलाई रातमाटे चर्चमा र महादेव माध्यमिक विद्यालयको केन्द्रलाई सोही विद्यालयको छात्रावासमा सारिनेछ ।

