काठमाडौँ । हरेक वर्ष सेप्टेम्बर १० का दिन संसारभर मनाइने विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिँदैछन् ।
सन् २०२४ देखि २०२६ सम्मका लागि तय गरिएको ‘आत्महत्याबारे सोच बदलौँ’ भन्ने मुख्य नाराका साथ यो दिवस मनाइँदैछ ।
समाजमा मानसिक स्वास्थ्य र आत्महत्याका विषयमा व्याप्त मौनता तथा गलत धारणालाई चिर्दै खुला छलफल, सहानुभूति र सहयोगको संस्कृति विकास गर्न यस पटक विशेष जोड दिइएको छ । विशेषज्ञहरूका अनुसार दिवसका दिन मात्रै औपचारिक कार्यक्रम गरेर यो गम्भीर समस्या समाधान हुन सक्दैन । यसका लागि वर्षैभरि समुदायस्तरमा सचेतना र सहयोग पुर्याउने कार्यक्रमहरू निरन्तर चलाउनु आवश्यक देखिन्छ ।
नेपालमा पछिल्ला वर्षहरूमा आत्महत्याको दर तीव्र रूपमा बढिरहेको तथ्याङ्कले देखाउँछ । विगत १० वर्षको अवधिमा ५६ हजारभन्दा बढी मानिसले आफ्नो ज्यान गुमाएका छन्, जुन त्यसअघिको दशकको तुलनामा निकै बढी हो । नेपाल प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै ६ हजार ८६६ जनाले आत्महत्या गरेका थिए । यस हिसाबले नेपालमा औसतमा दैनिक १८ जनाले अकालमा ज्यान गुमाइरहेका छन् ।
मनोविद् तथा मनोचिकित्सकहरूका अनुसार आत्महत्या रोकथामका लागि परिवार, समाज, स्वास्थ्य संस्था, विद्यालय र सरकार सबैको एकीकृत प्रयास अनिवार्य हुन्छ ।
कुनै पनि व्यक्तिमा देखिएको मानसिक तनाव वा समस्यालाई समयमै पहिचान गरेर उनका कुरा ध्यानपूर्वक सुनिदिने, ढाडस दिने र उचित परामर्श उपलब्ध गराउन सके धेरै जीवन बचाउन सकिन्छ ।

