काठमाडौँ । वर्षासँगै आएको पहिरो र खोलामा बढेको जलस्तरले देशका प्रमुख राजमार्गहरूमा सवारी आवागमन अस्तव्यस्त बनेको छ। सडक विभागका अनुसार धेरैजसो मुख्य राजमार्गमा सवारी साधन पूर्ण रूपमा ठप्प छन् भने केही स्थानमा जोखिम मोलेर एकतर्फी मात्र गाडी सञ्चालन भइरहेका छन् ।
धादिङस्थित पृथ्वी राजमार्गका कृष्णभीर, चाक्लाभीर, ज्वाङ खोला र किर्तिपुल क्षेत्रमा ठूलो पहिरो खसेकाले अर्को आदेश नभएसम्मका लागि गाडी चलाउन रोक लगाइएको छ। त्यसैगरी बिपी राजमार्गका माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कडुने र चौकीडाँडालगायत ठाउँमा ढुंगा र लेदो खस्दा यातायात ठप्प छ।
कान्ति राजमार्गको चपली र तकुर्चे खण्डमा खसेको पहिरो हटाई बिहान १० बजेसम्ममा सडक खुलाउने गरी ललितपुर र मकवानपुर दुवैतर्फ उपकरण परिचालन गरिएको छ। सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुंगा–सल्लेरी खण्डको सोलु खोला क्षेत्रमा ठूला ढुंगा फुटाउने मेसिन प्रयोग गरेर बेलुकासम्म बाटो खुलाउने प्रयास जारी छ।
मध्यपहाडी राजमार्गको कानाबगर, कालीगण्डकी करिडोरको बेलबगर, बागलुङ–बेनी सडक र राप्ती राजमार्गको कपुरकोट क्षेत्रमा पनि पहिरोका कारण सडक अवरुद्ध छ। तमोर करिडोरमा भने खोलाको बहाव नघटेसम्म सफाइको काम सुरु गर्न सकिने अवस्था छैन।
कर्णाली राजमार्गका विभिन्न स्थानमा साना-ठूला धेरै पहिरा खसेकाले टोली खटाएर बाटो खुलाउने काम भइरहेको छ। भालुवाङ–चाकचके–लिवाङ सडकखण्डमा भने आंशिक अवरोध रहेकाले चालकहरूलाई सावधानीपूर्वक सवारी चलाउन सडक विभागले आग्रह गरेको छ ।

