काठमाडौँ । अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले बस्ती नै जोखिममा पारेपछि पश्चिम नवलपरासीको सुस्ताबाट २९ जना स्थानीयको सफलताका साथ उद्धार गरिएको छ ।
सुस्ता गाउँपालिका–५ स्थित थारुटोलाका घरहरूमा नारायणी नदीको पानी पसेपछि असोज १० गते बिहान पौने ९ बजे सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सुस्ताबाट उद्धार टोली खटाइएको थियो ।
सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको कमान्डमा खटिएको २१ जनाको टोलीले बाढीको जोखिममा परेका स्थानीयलाई सुरक्षित स्थानमा पुर्याएको छ ।
टोलीले नागरिकका साथै एउटा गाई र १३ वटा बाख्राको समेत उद्धार गरेको छ । उद्धार गरिएका सबै व्यक्ति तथा चौपायाहरूलाई सुस्ता गाउँपालिका–५ स्थित होल्डिङ सेन्टरमा राखिएको छ। प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीले उद्धार कार्यलाई अझै जारी राखेको छ ।

