काठमाडौँ । आगामी हिउँदेयाममा नेपाललगायत हिन्दुकुश हिमालय क्षेत्रका अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण सार्वजनिक भएको छ ।
ललितपुरस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), बेइजिङ नर्मल विश्वविद्यालय तथा चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको वायुमण्डलीय भौतिक विज्ञान संस्थानले संयुक्त रूपमा तयार पारेको पछिल्लो अध्ययन प्रतिवेदनले यस्तो मौसमी अवस्था आकलन गरेको हो ।
‘हिन्दुकुश हिमालय हिउँदे मौसम पूर्वानुमान २०२६’ शीर्षकको उक्त प्रतिवेदनअनुसार नेपाल, अफगानिस्तान, बंगलादेश र उत्तरी म्यानमारसहित यस क्षेत्रका धेरै देशमा औसतभन्दा अधिक वर्षा हुने सम्भावना छ । यद्यपि, भौगोलिक अवस्थितिअनुसार मौसमको प्रकृति फरक रहने जनाइएको छ । विशेषगरी पश्चिमी हिमालय क्षेत्रमा हुन सक्ने भारी वर्षाका कारण स्थानीय स्तरमा बाढी, पहिरो र हिमपहिरोको जोखिम बढ्न सक्ने चेतावनी प्रतिवेदनले दिएको छ ।
अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासनले शक्तिशालीदेखि अति शक्तिशाली ‘एल निनो’ प्रणाली विकसित भइरहेको तथ्य सार्वजनिक गरेलगत्तै यो प्रतिवेदन बाहिर आएको हो । सन् १९५० यताको अभिलेखलाई आधार मान्दा यसपटकको एल निनो हालसम्मकै सर्वाधिक शक्तिशाली बन्न सक्ने सम्भावना करिब ६० प्रतिशत रहेको औँल्याइएको छ । इसिमोडका वैज्ञानिकहरूले यही मौसमी प्रभावका कारण हिमालयको फेदी क्षेत्रमा अधिक वर्षा र उच्च हिमाली भेगमा बाक्लो हिमपात हुन सक्ने बताएका छन् ।
यसअघिको मनसुनमा नेपाल र भुटानलगायत क्षेत्रमा प्राकृतिक विपद्ले ठूलो क्षति पुर्याएको पृष्ठभूमिमा यो हिउँदे पूर्वानुमान आएको हो । हिमनदी तथा स्थायी रूपमा हिउँ जमेको जमिनमा आएका बदलावका कारण त्यस्ता विनाशकारी घटना निम्तिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा समेटिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार सन् २०२६ को अगस्टमा नेपालको रसुवा जिल्लामा गएको भीषण ढुंगा–हिउँ पहिरोको उद्धार र पुनर्निर्माणमा ४ अर्ब ७० करोड अमेरिकी डलर बराबरको क्षति भएको अनुमान छ ।
मौसम प्रणाली र नदीले राजनीतिक सीमा नमान्ने भएकाले सम्भावित विपद्को आकलन र सामना गर्न क्षेत्रीय सहकार्य अपरिहार्य रहेको प्रतिवेदनका प्रमुख लेखक सार्थक श्रेष्ठले बताएका छन् । हिन्दुकुश हिमालय क्षेत्रका आठवटै राष्ट्रलाई आगामी मौसमको एकीकृत जानकारी उपलब्ध गराउन क्षेत्रीय विज्ञता र आधुनिक पूर्वानुमान प्रविधिको संयोजन गरिएको उनको भनाइ छ ।
हिमपातको अवस्थाबारे प्रतिवेदनले अफगानिस्तान, पाकिस्तान, उत्तरी भारत र नेपालका केही भूभागमा सरदरभन्दा बढी हिउँ जम्ने प्रक्षेपण गरेको छ । यसको ठिक उल्टो भुटान र चीनको पूर्वी तिब्बत क्षेत्रमा भने हिउँको तह औसतभन्दा पातलो रहने देखिएको छ । नदीमा पानीको बहाव सन्तुलित राख्न र आगामी वर्षका लागि जलस्रोतको उपलब्धता मापन गर्न हिउँको गहिराइले निर्णायक भूमिका खेल्छ । हिउँ कम जम्दा सिँचाइ प्रणाली, जलविद्युत् उत्पादन र पानीका मुहानमा प्रत्यक्ष असर पर्न सक्ने जनाइएको छ ।
बढी वर्षाको प्रक्षेपण गरिए तापनि हिन्दुकुश हिमालय क्षेत्र डढेलोको जोखिमबाट पूर्णतः मुक्त नहुने प्रतिवेदनले स्पष्ट पारेको छ । कतिपय भेगमा लामो समयसम्म खडेरी पर्ने र वनस्पति सुक्ने भएकाले आगलागीको खतरा यथावत् रहनेछ । खासगरी चीनको दक्षिणपूर्वी तिब्बत र म्यानमारका केही भूभागका वन तथा घाँसे मैदानमा उच्चदेखि अति उच्च स्तरको डढेलो जोखिम देखिएको छ ।
मनसुन सकिएलगत्तै विपद् पूर्वतयारीको काम रोकिन नहुने इसिमोडका जलविज्ञानी मनीष श्रेष्ठको धारणा छ । वर्षाको प्रवृत्ति अनियमित र तीव्र बन्दै गएकाले स्थानीय तहहरूले मौसमी प्रक्षेपणअनुसार पूर्वतयारी थाल्नुपर्ने र तत्काल निर्णय लिन छोटो अवधिका स्थानीय पूर्वानुमानलाई उपयोग गर्नुपर्ने उनले सुझाएका छन् ।
हिमाली राष्ट्रहरूको देशगत मौसमी आकलन
प्रतिवेदनले हिन्दुकुश हिमालय क्षेत्रका आठ देश तथा भूभागको सम्भावित मौसमलाई छुट्टाछुट्टै विश्लेषण गरेको छ ।
१. नेपाल: देशभर सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ, जसमा मध्य क्षेत्रमा अझ अधिक वर्षाको सङ्केत छ । पहाडी भेगमा तापक्रम औसतभन्दा माथि रहने र उच्च हिमाली क्षेत्रमा औसतभन्दा कम हुने अनुमान छ । उत्तरी हिमाली भागमा सरदरभन्दा बढी हिमपात हुने देखिन्छ । अधिकांश वन तथा घाँसे मैदानमा डढेलोको जोखिम अति न्यून रहे पनि पूर्वी र पश्चिमी सीमावर्ती भेगका केही स्थानमा न्यूनदेखि मध्यम जोखिम छ ।
२. अफगानिस्तान: पूर्वी क्षेत्रका केही भागमा सामान्य वर्षा भए पनि मुलुकका अधिकांश स्थानमा औसतभन्दा बढी वर्षा हुने आकलन छ । देशैभर तापक्रम सरदरभन्दा माथि रहने र उत्तरपूर्वी हिमाली भेगमा अधिक हिमपात हुने सम्भावना छ ।
३. बंगलादेश: तटीय क्षेत्रमा सामान्य र मध्य तथा उत्तरी भूभागमा औसतभन्दा बढी वर्षा हुने अनुमान छ । तापक्रम सरदरभन्दा बढी रहनेछ । डढेलोको जोखिम समग्रमा न्यून रहे पनि दक्षिणी भेगका केही स्थानमा मध्यम जोखिम देखिएको छ ।
४. भुटान: उत्तरी क्षेत्रमा सामान्य वर्षा हुने र दक्षिणी सीमावर्ती भेगमा तापक्रम औसतभन्दा बढी रहने आकलन छ । मध्य भुटानमा हिउँको तह सामान्य रहे पनि पश्चिमी र उत्तरी क्षेत्रमा औसतभन्दा कम हिउँ जम्ने सम्भावना छ । डढेलोको जोखिम अधिकांश स्थानमा मध्यम र उत्तर तथा पूर्वका केही भागमा उच्च हुन सक्छ ।
५. चीनको तिब्बत स्वायत्त क्षेत्र: अधिकांश स्थानमा औसतभन्दा बढी वर्षा हुने अनुमान छ । दक्षिणपश्चिमी तथा दक्षिणी सीमावर्ती क्षेत्रमा चिसो बढ्ने र पूर्वी भेगमा तापक्रम सामान्य रहनेछ । दक्षिणपश्चिमी सीमाका केही भागमा अधिक हिमपात भए पनि पूर्वी क्षेत्रमा हिउँको तह औसतदेखि कम रहने प्रक्षेपण छ । दक्षिणपूर्वी क्षेत्रमा डढेलोको जोखिम उच्चदेखि अति उच्च छ ।
६. भारत: दक्षिणी भारतमा औसतभन्दा कम, मध्य क्षेत्रमा सामान्य र उत्तरी तथा उत्तरपूर्वी भेगका केही भागमा औसतभन्दा बढी वर्षा हुने आकलन छ । पश्चिमी सीमावर्ती क्षेत्रमा तापक्रम बढ्ने बलियो सङ्केत देखिएको छ । हिमाचल प्रदेश र सुदूर उत्तरमा सरदरभन्दा बढी हिउँ जम्ने सम्भावना छ । मध्य तथा पूर्वी भारतमा डढेलोको जोखिम न्यून रहे पनि दक्षिणी प्रायद्वीप र उत्तरपूर्वी हिमालयका केही स्थानमा अति उच्च जोखिम छ ।
७. म्यानमार: पूर्वी क्षेत्रमा सामान्य तथा मध्य र उत्तरपूर्वी भूभागमा औसतभन्दा बढी वर्षा हुने अनुमान छ । अधिकांश क्षेत्रमा तापक्रम सामान्य रहनेछ । उत्तरी तथा पूर्वी भेगमा मध्यमदेखि उच्च र उत्तर तथा दक्षिणका केही स्थानमा अति उच्च डढेलो जोखिम देखिएको छ ।
८. पाकिस्तान: दक्षिणी क्षेत्रका केही भागबाहेक देशभर औसतभन्दा बढी वर्षा हुने आकलन छ । तापक्रम सरदरभन्दा माथि रहने र दक्षिणपश्चिमी भेगमा तापक्रम वृद्धिको सङ्केत बलियो छ । उत्तरी पाकिस्तानमा औसतभन्दा बढी हिमपात हुने र डढेलोको जोखिम मध्यम रहने अनुमान छ ।
हिमाली सुरक्षा र जलस्रोत व्यवस्थापनमा जोड
इसिमोडले नोभेम्बर २५ देखि २७ सम्म काठमाडौँमा आयोजना हुने ‘हिन्दुकुश हिमालयको हिममण्डलका लागि विज्ञान, नीति र क्षेत्रीय सहकार्य’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिवेदनका विस्तृत निष्कर्ष सार्वजनिक गर्ने जनाएको छ । उक्त सम्मेलनमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय वैज्ञानिक र नीतिनिर्माताहरूको सहभागिता रहनेछ ।
संयुक्त राष्ट्रसंघको हिममण्डल विज्ञानका लागि कार्य दशक (२०२५–२०३४) अन्तर्गत हुन लागेको यस सम्मेलनमा हिमाली क्षेत्रको अनुगमन, पूर्वसूचना प्रणाली र क्षेत्रीय सहकार्यका प्राथमिकता निर्धारण गरिनेछ ।
हिउँदे पूर्वानुमानले अर्को हिमपहिरो जाने ठ्याक्कै मिति नतोके पनि जोखिमयुक्त क्षेत्र पहिचान गरी पूर्वतयारी गर्न सरकारलाई सघाउ पुर्याउने इसिमोडकी विपद् जोखिम न्यूनीकरण हस्तक्षेप व्यवस्थापक सस्वता सान्यालले बताइन् । छोटो अवधिका पूर्वानुमान र पूर्वसूचना प्रणालीका आधारमा हिमाली नाका बन्द हुनुअगावै तयारीका लागि बजेट विनियोजन गर्न सकिने उनको भनाइ छ ।
इसिमोडका हिममण्डलसम्बन्धी वरिष्ठ व्यवस्थापक मोहम्मद फारुक आजमले हिउँदे वर्षाले हिमाली विपद् र तल्लो तटीय क्षेत्रको जलसुरक्षामा प्रत्यक्ष असर पार्ने उल्लेख गरे । तापक्रम वृद्धिले हिउँको साटो पानी पर्दा हिमपहिरो जाने र वर्षासँगै हिउँ पग्लिने खतरा बढ्ने उनले बताए । पश्चिमी हिमालयमा अधिक हिमपातको सम्भावना रहे पनि पूर्वी क्षेत्रमा हिउँ घट्दा वसन्त ऋतुमा पानीका मुहान सुक्न सक्ने भएकाले जलस्रोत व्यवस्थापक, जलविद्युत् आयोजना सञ्चालक र किसानले अद्यावधिक पूर्वानुमानअनुसार जलाशय सञ्चालन, पानी बाँडफाँट र सिँचाइ योजना बनाउनुपर्ने उनको सुझाव छ ।
यसैगरी, इसिमोडका वायु प्रदूषणसम्बन्धी प्रमुख आशिष तिवारीले नेपालसँग राष्ट्रिय वन डढेलो कार्ययोजना र भूउपग्रहमा आधारित आगलागी पहिचान प्रणाली उपलब्ध रहेकाले सुख्खायाम सुरु हुनुअघि नै रोकथामका लागि बजेट र स्रोत परिचालन गर्नुपर्नेमा जोड दिए । स्थानीय तह, वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा अग्निरेखा निर्माण, तालिमप्राप्त जनशक्ति तयारी र आगलागीको सूचनालगत्तै परिचालन हुने स्पष्ट संयन्त्र बनाउनुपर्ने उनले बताए ।

