काठमाडौँ । संघीय संसद्को सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तार आयोजनासम्बन्धी सम्पूर्ण कागजात एक साताभित्र पेस गर्न निर्देशन दिएको छ ।
मंगलबार बसेको समितिको बैठकमा उक्त आयोजनाको आर्थिक, प्राविधिक तथा प्रक्रियागत पाटोबारे विस्तृत छलफल भएपछि समितिले सम्बन्धित निकायलाई सात दिनको समयसीमा तोकेको हो ।
बैठकको निष्कर्ष सुनाउँदै समितिका सभापति भरतबहादुर खड्काले आयोजनाबारे थप अध्ययन गर्नुपर्ने आवश्यकता देखिएकाले आवश्यक दस्तावेज माग गरिएको जानकारी दिए । उनका अनुसार बैठकमा आयोजनाका विभिन्न आयामहरूमाथि गहन विमर्श भएको थियो ।
सभापति खड्काले भने, ‘आज नेपाल विद्युत प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तारका सम्बन्धमा अत्यन्त उपयोगी छलफल भएको मैले महसुस गरेको छु । यस आयोजनाका आर्थिक, प्राविधिक तथा प्रक्रियागत पक्षहरूबारे व्यापक छलफल भएको छ । थप जानकारी प्राप्त गर्नुपर्ने आवश्यकता महसुस गर्दै समितिको तर्फबाट सम्बन्धित निकायलाई सात दिनभित्र आवश्यक कागजातहरू समितिमा उपलब्ध गराउन निर्देशन दिन चाहन्छु ।’
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु राज्यका सबै अंगको साझा दायित्व रहेको उल्लेख गर्दै खड्काले सरकारी कामकारबाही सञ्चालन गर्दा विधि, पद्धति र प्रणालीको अनिवार्य पालना हुनुपर्नेमा जोड दिए । लोकतन्त्रका आधारभूत मान्यता र मापदण्डलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
समितिको कार्यक्षेत्रबारे स्पष्ट पार्दै सभापति खड्काले लेखा समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अदालतजस्तो निकाय नभएको स्मरण गराए । ‘हामी विषयवस्तुको अध्ययन गर्छौँ, आवश्यक सहजीकरण गर्छौँ र सम्बन्धित विषयको प्रकृति हेरेर नै थप प्रक्रिया अगाडि बढाउँछौँ,’ उनले भने ।
सभापति खड्काले नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूलाई प्रचलित विधि र प्रणालीभित्र रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्नसमेत आग्रह गरे । सात दिनभित्र कागजात प्राप्त भएपछि समितिले उक्त आयोजनाको प्राविधिक, आर्थिक तथा प्रक्रियागत विषयमा थप अध्ययन र छलफल अघि बढाउने जनाएको छ ।

