Khaptad Organic Nepal

काठमाडौँ । जलवायु परिवर्तनले निम्त्याउने जोखिम व्यवस्थापन तथा प्रभाव न्यूनीकरण गर्ने उद्देश्यसहित काठमाडौँ महानगरपालिकाले एक साता लामो ‘जलवायु सप्ताह’ औपचारिक रूपमा सुरु गरेको छ ।

आगामी मंसिर १३ गतेसम्म चल्ने यस अभियानअन्तर्गत हरेक दिन फरक–फरक विषयवस्तुमा केन्द्रित रहेर बहस, अन्तरक्रिया तथा व्यावहारिक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

महानगरपालिकाका अनुसार सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र, सामाजिक संघसंस्था, अध्येता, बालबालिका, युवा, महिला र वातावरण अभियन्ताहरूको सक्रिय सहभागितामा यो सप्ताहव्यापी कार्यक्रम अघि बढाइएको हो ।

पहिलो दिन : ‘रिचार्ज काठमाडौँ’ र जलवायु गोलमेच

सप्ताहको शुभारम्भका अवसरमा आज राष्ट्रिय सभागृहमा आयोजित उद्घाटन समारोहसँगै ‘रिचार्ज काठमाडौँ’ अभियानको थालनी गरिएको छ । पहिलो दिनकै कार्यक्रमअन्तर्गत नीतिगत तथा राजनीतिक नेतृत्व तहमा उच्चस्तरीय संवाद स्थापित गर्न ‘जलवायु गोलमेच’ समेत सम्पन्न भएको छ । गोलमेचमा सहभागी विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले जलवायु संकट, सहरी उत्थानशीलता र साझा प्राथमिकताका विविध पक्षमा आ–आफ्ना धारणा राखेका थिए ।

उक्त गोलमेचले तत्काल सामूहिक पहल आवश्यक रहेका पाँचवटा मुख्य क्षेत्र पहिचान गरेको छ । जसमा जलस्रोतको उचित व्यवस्थापन, वित्तीय तथा मानवीय स्रोत र अधिकारको बाँडफाँड, अन्तरनिकाय समन्वय तथा सहकार्य, जलवायु न्याय, सुनुवाइ एवं क्षतिपूर्ति र दीर्घकालीन योजनाका लागि उच्चस्तरीय राजनीतिक प्रतिबद्धता समावेश छन् । हिमाल, पहाड र तराईका गाउँदेखि सहरसम्मै पानीको संकट गहिरिँदै गएको औँल्याउँदै वक्ताहरूले यसको समाधानका लागि परम्परागत ज्ञान, सीप र आधुनिक प्रविधिको संयोजन अपरिहार्य रहेको निष्कर्ष निकालेका छन् ।

समारोहमा रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीको विपद् अनुभवसमेत साझा गरिएको थियो । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैलाश तामाङ र आमाछोदिङ्मा गाउँपालिकाका अध्यक्ष माचेङ तामाङले बाढीले पुर्‍याएको क्षति र स्थानीय बासिन्दाले भोग्नुपरेका कठिनाइबारे विस्तृत विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौँ महानगरपालिकाले थालेको यस पहलले स्थानीय तहको नेतृत्वमा जलवायु अनुकूलनका कार्य प्रभावकारी रूपमा अघि बढाउन सकिने सकारात्मक सन्देश दिएको उल्लेख गरे ।

त्यसैगरी, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले महानगरको यस साझा अभियानमा प्रदेश सरकारको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जलवायु परिवर्तनको असरबाट कुनै पनि वर्ग वा समुदाय अछुतो नरहेको बताउँदै विपद् व्यवस्थापनमा सबै तह र नागरिकको एकीकृत प्रयास अनिवार्य रहेकोमा जोड दिइन् ।

बाँकी छ दिनका विषयगत कार्यसूची

सप्ताहको दोस्रो दिन ‘जलवायु वित्त’ मा केन्द्रित रहनेछ, जहाँ न्यूनीकरण, अनुकूलन र जोखिम व्यवस्थापनका लागि आवश्यक आर्थिक स्रोतको परिचालनबारे विमर्श हुनेछ । तेस्रो दिन ‘नागरिक विज्ञान, सम्पदा र जलवायु परिवर्तन’ विषयमा छलफल गर्दै सांस्कृतिक तथा प्राकृतिक सम्पदामा परेको असर र संरक्षणका उपाय खोजी गरिनेछ ।

चौथो दिन ‘ऊर्जा प्रणाली र जलवायु परिवर्तन’ अन्तर्गत ऊर्जा उत्पादन, उपयोग र जलवायु अनुकूलनका विषयमा संवाद हुनेछ । पाँचौँ दिन ‘बालबालिका तथा युवा जलवायु कार्य दिवस’ मनाउँदै जलवायु चुनौती सामना गर्न नयाँ पुस्ताको भूमिका र सहभागितालाई प्राथमिकता दिइनेछ । छैटौँ दिन ‘खाद्य प्रणाली र जलवायु परिवर्तन’ विषयमा केन्द्रित रहेर कृषि, खाद्य उत्पादन तथा खाद्य सुरक्षामा देखिएको प्रभावबारे चर्चा गरिनेछ । यस्तै, सातौँ तथा अन्तिम दिन ‘नागरिक समाज तथा संस्थाहरूको दायित्व’ अन्तर्गत गैरसरकारी तथा अन्तरसरकारी निकायको भूमिकाबारे समीक्षा गरिनेछ ।

खेलकुद र यातायातमार्फत जनचेतना

बहस र अन्तरक्रियासँगै आम नागरिकलाई प्रत्यक्ष जोड्न सचेतनामूलक कार्यक्रमसमेत तय गरिएका छन् । नेपाल प्रिमियर लिगसँगको जलवायु साझेदारीमा हरित रङ्गशाला, शून्य फोहरका खेल दिवस र खेलकुदमार्फत जलवायु सचेतना फैलाउने योजना छ ।

यसैगरी, साझा यातायातसँगको सहकार्यमा सार्वजनिक यातायातको प्रयोगलाई प्रोत्साहन गर्ने, नागरिक विज्ञान प्रवर्द्धन गर्ने र वायु प्रदूषण नियन्त्रणसम्बन्धी जनचेतना जगाउने अभियान सञ्चालन गरिनेछ । जलवायु सप्ताहलाई केवल औपचारिक छलफलमा सीमित नराखी समुदायको सहभागितामा तत्काल कार्यान्वयन गर्न सकिने वैज्ञानिक तथा व्यावहारिक समाधान सुरु गर्ने साझा मञ्चका रूपमा विकास गर्ने महानगरपालिकाको लक्ष्य छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।