काठमाडौँ । जङ्गी अड्डामा सोमबार आयोजित एक समारोहबिच पदोन्नति भएका नेपाली सेनाका विभिन्न दर्जाका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रधानसेनापति अशोक राज सिग्देलले ती अधिकृतहरूलाई दर्ज्यानी चिन्ह लगाइदिनुभएको हो ।
मन्त्रिपरिषद्ले मंसिर ४ गते गरेको निर्णयबमोजिम रथी दर्जामा पदोन्नति हुनुभएका उपरथी अनुपजंग थापाले प्रधानसेनापति सिग्देलबाट दर्ज्यानी चिन्ह ग्रहण गर्नुभएको छ ।
उक्त समारोहमा उपरथी दर्जामा पदोन्नति हुनुभएका सहायक रथी मनोज थापालाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको नेपाली सेनाले जानकारी दिएको छ । साथै सहायक रथी दर्जामा पदोन्नति हुनुभएका प्राविधिक महासेनानी जगत शाह, महासेनानी पंकज रावल र महासेनानी शितल बानियाँ तथा महासेनानी दर्जामा पदोन्नति हुनुभएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई दर्ज्यानी चिन्ह लगाइएको छ ।
दर्ज्यानी चिन्ह प्रदान समारोहमा रथीवृन्द, अन्य सैनिक अधिकृतहरूका साथै पदोन्नति भएका अधिकृतका परिवारजनको समेत सहभागिता रहेको थियो ।

