काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्तरिक विवाद तथा समस्यामा नेपाली कांग्रेसले कुनै हस्तक्षेप नगर्ने पार्टी सभापति गगन थापाले स्पष्ट पारेका छन् ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले रास्वपाभित्रका आन्तरिक विषयप्रति कांग्रेसको कुनै चासो वा संलग्नता नरहेको बताएका हुन् । पार्टीको महाधिवेशन दस्तावेजमै यसबारे स्पष्ट नीति तय गरिएको उल्लेख गर्दै उनले रास्वपाको आन्तरिक मामिलामा नपस्ने र कुनै किसिमको अनावश्यक विवाद वा उपद्रोमा सहभागी नहुने धारणा राखे ।
सरकार सञ्चालनका लागि सत्तापक्षको आफ्नै दायित्व भएजस्तै प्रतिपक्षी दलहरूको पनि रचनात्मक भूमिका हुने थापाको भनाइ छ । प्रतिपक्षमा रहेका अन्य दलहरूसँग मोर्चाबन्दी वा गठबन्धन बनाउने पक्षमा कांग्रेस नरहेको प्रष्ट पार्दै उनले गुण र दोषका आधारमा सरकारको गलत कदमको प्रतिरोध गर्ने र आवश्यक विषयमा सहकार्य गर्ने नीति पार्टीले अवलम्बन गर्ने बताए ।
यसैगरी, सरकारका कामकारबाहीमाथि प्रश्न उठाउन थालेपछि आफूविरुद्ध विभिन्न प्रचारबाजी गरिएको र अडियो सार्वजनिक गर्ने जस्ता गतिविधि भएको सभापति थापाले उल्लेख गरे । यस्ता अवाञ्छित गतिविधिको आफूले विगतदेखि नै प्रतिवाद गर्दै आएको र भविष्यमा पनि डटेर सामना गर्न तयार रहेको उनले बताए ।

