काठमाडौँ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा प्रधानमन्त्री वालेन्द्र शाहले हिंसापीडितको सुरक्षा र न्यायमा पहुँच सुनिश्चित गर्न सबै सरोकारवाला पक्षलाई अपिल गरेका छन् ।
आजदेखि विश्वव्यापी रूपमा सुरु भएको अभियानको शुभकामना सन्देश जारी गर्दै उनले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै उतार्नुपर्ने र दण्डहीनताको अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन् ।
प्रधानमन्त्री शाहले लैङ्गिक हिंसालाई मानव अधिकारको गम्भीर उल्लङ्घनका रूपमा व्याख्या गर्दै यसले समतामूलक समाज निर्माणमा मुख्य बाधा पुर्याएको बताएका छन् । समाजका महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत वर्ग हिंसाको बढी जोखिममा रहेको उल्लेख गर्दै उनले पछिल्लो समय डिजिटल माध्यमबाट हुने हिंसाले समेत गम्भीर चुनौती थपेको औँल्याएका छन् ।
संविधानले प्रत्याभूत गरेका समानता, सामाजिक न्याय र समावेशिताका मूल्यमान्यतालाई व्यवहारमा लागू गर्न सबै किसिमका हिंसाको रोकथाम तथा दोषीलाई कानुनी दायरामा ल्याउनु अनिवार्य रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । सरकारको प्राथमिकतामा कानुनी तथा संस्थागत संरचनाको सुदृढीकरण, महिला सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन र पीडितको पुनःस्थापना रहेको उनले स्पष्ट पारेका छन् ।
यस्ता सरकारी कार्यक्रमलाई नतिजामुखी बनाउन कानुनको प्रभावकारी कार्यान्वयन, जनचेतना अभिवृद्धि, संस्थागत जवाफदेहितासँगै संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारबीच बलियो समन्वय आवश्यक रहेको प्रधानमन्त्री शाहको भनाइ छ । साथै, यसै वर्षको भदौ महिनामा भोटेकोशी क्षेत्रमा गएको बाढीले पुर्याएको क्षतिलाई स्मरण गर्दै उनले प्राकृतिक विपद्को समयमा लैङ्गिक हिंसाका घटना बढ्न सक्ने जोखिमप्रति विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।
अभियानलाई सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, अधिकारकर्मी र आम सर्वसाधारणको सक्रिय सहभागिता एवं ऐक्यबद्धताका लागि उनले आह्वान गरेका छन् । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिँदै आएको छ ।

